नेपथ्यमा स्वतन्त्रता दिवस


                                                                                                                                                               

                                                              कञ्चनमणि दीक्षित

“अब म केहीबेरमा यहाँ उपस्थितमध्येबाट अतिथिको आसन ग्रहण गर्नुहुने पाहुनाहरुलाई मञ्चमा बेलाउने छु” च्यान्टे डल्फिनले उद्घोषण ग¥यो । सभामा धेरै पाहुनाहरु आएका थिए । सभा एकदम उल्लासमय थियो । उपस्थित सबैले एकले अर्कोको अनुहार हेरिरहेका थिए, कौतुहल बनिरहेको दृश्य अझ रोमाञ्चक थियो । च्यान्टेले फेरि बोल्न सुरु ग¥यो—“स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज म यहाँ उपस्थित सबै सहभागीहरुलाई स्वागत गर्दछु । यो हाम्रो पहिलो स्वतन्त्रता दिवस हो र हामीले सबै समुन्द्रका र वरपरका प्राणीलाई निमन्त्रणा दिएका छाँै । अब प्रायः धेरै आइसक्नुभएको छ भने कोही आउने क्रममा हुनुहुन्छ । आज हामीले केही विषेश पाहुनाहरुलाई पनि यहाँहरुको माझमा आमन्त्रण गरेका छाँै । तपाईंहरुलाई पनि केही भन्नु वा प्रतिक्रिया दिनुछ भने कृपया हात उठाएर माइकमा बोल्नुहुन अनुरोध गर्छु । यति भन्दै च्यान्टे डल्फिन मञ्चबाट ओर्लियो ।


यो दृश्य सन् २०९० को अक्टोबर महिनाको २५ तारिख प्यासीफिक महासागरभित्रको एउटा सानो शहरको हो । स्वतन्त्रता दिवस मनाउन विश्वभरिका समुद्र, महासागर र त्यस वरिपरिका जलचरहरु भेला भएका छन् । सबैमा उत्साह र उमङ्ग छाएको छ । मञ्च पनि विशेष तरिकाले सजाइएको छ । सहभागीहरु संयमित भएर मञ्चमा आउने विशेष पाहुनाहरुकोे पर्खाइमा छन् ।

“यहाँहरुलाई फेरि पनि मेरो नमस्कार ! हाम्रो आमन्त्रित पाहुनाहरु सबै आइसक्नुभएको छ । अब म उहाँहरुलाई अतिथिको आसन ग्रहणका लागि मञ्चमा आउन अनुरोध गर्दछु । सर्वप्रथम म यस सभाको सभापतित्व गरिदिनुहुन सबैभन्दा जेठी आमा कछुवालाई आग्रह गर्दै मञ्चमा आमन्त्रित गर्छु । यसपछि म काका ह्वेल, काका सार्क र दाजु गोहीलाई मञ्चमा आएर शोभा बढाइदिन अनुरोध गर्दछु ।” उद्घोषक च्यान्टेले कार्यक्रम अगाडि बढायो । 
सबै पाहुनाहरु मञ्चमा आसन ग्रहण गर्छन् । आमा कछुवाले सभामा उपस्थित हुने सबैलाई धन्यबाद दिदै स्वागत मन्तव्यमा भन्छिन्, “आज हामी सबैको पहिलो स्वतन्त्रता दिवस हो । यो अवसरमा तपार्इंहरुलाई यस कार्यक्रममा स्वागत गर्दछु ! तपाईहरुमा देखिएको यो उत्साह र उमङ्गले म अत्यन्त खुशी भएकी छु । समयको पाबन्दिलाई मध्यनजर गर्दै  म अब काका ह्वेललाई आफ्नो मन्तव्य राखिदिनुहुन अनुरोध गर्छु ।”
काका ह्वेल धेरै नै बूढो देखिन्छन् । बुढ्यौलीले होला बिरामी पनि छन् जस्तो देखिन्छ । हिँड्दा पनि गा¥हो गरी हिँडछन् । जिउ दुब्लो पातलो तर भुँडीचाहिँ ह्वात्त बाहिर निस्केको छ । शायद यही कारणले होला सबैले उनलाई ‘भुँडे भनेर बोलाउने रहेछन् । उनी बिस्तारै माइक भएको ठाउँमा पुगे र बोल्न खोजे तर उनको बोली निस्केन । उनी उभिएर सहभागीहरुलाई नियालेर हेरिरहन्छन् । अनि भावविभोर हुदै आँसु झार्छन् । उनी कसैले नदेख्ने गरी निहुरिएर आँसु पुस्छन् अनि हिम्मत जुटाएर सबैलाई स्वागत गर्दै यस बिशेष दिनमा आएर यस कार्यक्रमलाई सफल तुल्याउने सहभागी सबैलाई धन्यबाद दिँदै आफ्नो मन्तव्य शुरु गर्छन् ।

“प्यारा दाजुभाई तथा दिदिबहिनीहरू ! मेरो जीवनको उत्तराद्र्वमा मैले यो दिन देख्न पाउँछु भन्ने लागेको थिएन । मेरो उमेरको सबै साथीभाइ र आफन्त आज यस दुनियाँमा छैनन् । यहाँबाट म स्पष्ट देख्दैछु कतिपय तपाईँहरु पनि म जस्तै रोगी र अपाङ्ग हुनुहुन्छ । कसैको हात चल्दैन, कसैको खुट्टा भने कोही आँखा देख्नुहुन्न । अब कसैले रोगी र अपाङ्ग हुनु पर्दैन । किनकि अब हाम्रो नयाँ पुस्ताका लागि नविन युग सुरु भएको छ । हाम्रो समुद्र सफा भएको छ । न त यसमा अब पहिलेको जस्तो विषादी मिसिएको छ न त मानिसले प्रयोग गरेर फालेका फोहोर र प्लास्टिकका टुक्रा हाम्रो पेटमा पुग्नेछन् ।





मलाई राम्रोसँग याद छ हामी केटाकेटी छँदा बुबा भन्नुहुन्थ्यो, मानिसहरुले ठूलो प्रगति गर्दैछन् । कलकारखाना खोलेका छन्, बाटोघाटो बनेको छ, गाउँ शहर उज्यालो भएको छ र कृषिमा ठूलो फड्को मारेका छन तर यो कुरा नबिर्सनु कि उनीहरुले जति प्रगती गर्दछन त्यति नै हामी समुद्रमा बस्ने जीवजन्तुलाई अभिषाप दिइरहेका छन् । उनीहरुले वायू, पानी र भूमि प्रदुषण गरिरहेका छन् । यसको प्रतिफल हामी जनावरहरु, पंछी र बोटबिरुवाले भोगिरहेका छौँ ।  परिणामतः मानिसको प्रगति हँुदै गयो अनि हाम्रो दुर्गती !”



त्यत्तिकैमा एक सहभागी माछाले आक्रोश पोख्दै भन्यो, “त्यति मात्र कहाँ हो र ? मानिसले प्रयोग गरेको विषादी पानीमा आएर मिसिँदा मेरो परिवारका सबै र मेरो नजिकका साथीहरुसमेतको देहलीला समाप्त भयो  । म मात्र किन बाँचेँ थाहा छैन् ।”

“ठीक भन्नुभयो तपाईले । यी सबै मानिसहरुले गरेको नकारात्मक प्रगतिको नतिजाबाट  भएको हो । तपार्इंका मात्र हैन यहाँ हजाराँै जलचरहरुको ज्यान गएको छ त्यस विषादी हाम्रो पानीमा मिसिनाले ।” यति भन्दै उसले आफ्नो मन्तव्य निरन्तर ग¥यो मेरो भुँडी देख्नुहुन्छ नि ? यो पनि मानिसहरुकै कारणबाट भएको हो । आफूहरुको प्रयोगबाट निस्केको फोहर हाम्रो बासस्थानमा ल्याएर थुपारेका कारणले मेरो यस्तो दुर्दशा भयो । उनीहरुले फालेका प्लास्टिक आहार सम्झेर खान थाल्यौँ । अपच भएर पेट दुख्न थाल्यो र साथीहरु धमाधम मर्न थाले । मरेका साथीहरुलाई घच्याडेर मानिसको बस्ती नजिकैसम्म पनि पु¥यायौँ, हाम्रो मर्म बुझाउन । तर उनीहरुले हाम्रो मर्का बुझेनन् । फोहर क्रमिक रुपले बढ्न थाल्यो भने हाम्रो सङ्ख्या चाहिँ घट्यो । अब भने समय बदलिएको छ, मैले र मेरो परिवारले भोगेको जस्तो पीडा अबको सन्ततीले भोग्न नपरोस्, धन्यवाद !” यति भन्दै काका ह्वेल आफ्नो आशनतिर लाग्छन् ।

“म काका ह्वेललाई आफ्नो कुरा राखिदिनु भएकोमा धन्यवाद दिन्छु । साँच्चै नै अघिल्ला बर्षहरु सम्झन थाल्यौँ भने मनमा पीडा हुन्छ । प्रदुषणका कारणबाट हामीले धेरै प्यारा साथीहरु, अभिभावक र परिवार गुमाएका छाँै । यसै बक्तब्यको क्रममा म अर्का बक्ता काका सार्कलाई आफ्नो कुरा राखिदिनुहुन अनुरोध गर्दछु ।” आमा कछुवाले भनिन् ।

काका सार्क पनि रोगी नै छन् । उनी ह्वेलको जस्तो धेरै उमेर नभए पनि बुढो देखिन्छन्् तर फुर्तिलो छन् । उनका शरीरभरि घाउ पुरिएर बनेको दाग नै दाग छ । माइक लिएर उनी सहभागी बसेको ठाउँमा एक चक्कर लाउँछन् र अगाडि बसेका स–साना नानीलाई सुम्सुम्याउँदै भन्छन्, “अब हाम्रो हैन यिनीहरुको युग हो । यिनीहरुले सुख पाउनुपर्छ । प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु तपाईहरुलाई मेरो नमस्कार । म काका ह्वेल जस्तो राम्रो बोल्न सक्दिन तर म केही कुरा राख्न चाहन्छु ।

धेरै पहिला मानिसबाट हामीलाई खतरा नै थिएन । उनीहरु माछा मार्न आउँथे तर हामीलाई पीडा दिँदैनथे । काका ह्वेलले भनेझँै उनीहरुको प्रगतिसँग हाम्रो दुर्गती भएको थियो । म सम्झन्छु एक दिन मेरा साथीहरुले मानिसहरुले हामीलाई धेरै रङ्गीचङ्गी खाना ल्याएका छन् खान जाउँ भनेका थिए । यदि म पनि त्यस दिन उनीहरुसँग गएको भए आज यहाँ आएर बोल्ने थिइन होला । त्यो खाना नभएर कलकारखानाबाट निस्केको अम्लिय प्रदूषणयुक्त फोहोर रहेछ । सबै साथीहरुको जिवनलीला समाप्त भयो । हामी गर्न पनि के नै सक्थ्यौ र ? अरु विकल्प नै थिएन शिबाय झेल्नु । एक दिन मेरो अर्को प्यारो साथी हिलोमा डुबेर आएको जस्तो थियो हामी सबैले जिस्कायौं तर केही दिनमा उ पनि हामी सबैलाई छोडेर गयो । वास्तबमा उ समुन्द्रमा तेल ओसार्ने ट्याङ्करबाट पोखिएको तेलमा डुबेर आएको रैछ र अक्सिजनको कमीले केही दिनमा उसको ज्यान गयो ।





पछि हामीलाई ग्लानी भयो । के गर्ने ? म सम्झिन्छु केही वर्षअघि मानिसहरुले मलाई जिस्काउँदै गर्दा मैले आत्मरक्षाका लागि झम्टँदा उनीहरुले ल्याएको भिडियो क्यामेरा र अरु उपकरण निल्न पुगेको छु । पेटभित्र पीडा हुन्छ केही गर्न सक्दिन् । आफ्नो मृत्यु कुरेर बसेको छु । खै आफ्नो गन्थन पनि कति गर्ने । लाग्छ अब यो तिमीहरुले (अगाडी बसेका स–साना नानीहरुलाई ईसारा गर्दै) यस्तो दिन देख्न पर्दैन । ल त अब दाजु गोहीको कुरा सुनौं । धन्यबाद !”
“धन्यवाद काका सार्क, अब म विशेष पाहुना दाजु गोहीलाई आफ्नो मन्तव्य राखिदिनुहुन अनुरोध गर्दछु । उहाँ हाम्रो छिमेकी हुनुहुन्छ । उहाँको बासस्थान समुद्र नभई नजिकैको नदी हो । आज हाम्रो विशेष आग्रहमा यहाँ आउनु भएको छ । सबैजना ताली बजाएर उहाँको स्वागत गरौं”आमा कछुवाले भनिन् ।

दाजु गोही सफा पानीमा बस्ने हँुदा नुनयुक्त पानीमा रहँदा उनलाई केही असहज भएको प्रस्टै देखिन्छ । धेरै उमेर र नदीको दुषित पानीले उनका हरिया बाक्ला छाला पनि काला भैसकेका छन् । घाँटीमा गाडीको पाङग्राको माला लगाएका छन् । लामा–लामा नङ र चक्कुजस्तै तीखा दाँत हेर्दै डरलाग्दो । बिस्तारै माइक समातेर उनी भन्छन्—“नमस्कार ! मलाई यसरी सम्मान गरेर बोलाउनु भएकोमा म हर्षले बिभोर भएको छु र मेरो तर्फबाट पनि तपाईहरुलाई पहिलो स्वतन्त्रा दिवसको बधाई । काका ह्वेल र काका सार्कको कुरा सुन्दा मलाई केही हदसम्म उहाँहरूले मेरै कुरा गरेको जस्तो भान भयो । विचार गर्नुस् त ? मानिसले गरेको प्रदुषणले यहाँ समुद्रमा पुगेर यति धेरै नोक्सान ग¥यो भने, भूमिमाथि नै बगेको नदी नाला र तालहरुलाई कति नोक्सान ग¥यो होला ?”
एक समुद्रि सिलले प्वाक्क बोल्दै भन्यो “प्रकृतिले अरु प्राणी भन्दा मान्छेलाई विवेकशील प्राणी बनाएको छ । यिनीहरुको बुद्धि तीक्ष्ण हुन्छ र सुनेको थियौ रातमा आकाशमा देखिने चन्द्रमामा पनि यिनीहरु पुगीसकेका थिए । तर यही विवेकशील प्राणीबाट हामीले यो दुर्गती पाइरहेका थियौँ ।”




“त्यैही त, एक समय यस्तो पनि थियो कि भएभरका नदी नालामा पानीको सट्टा मानिसका मल मुत्र र प्लाष्टिक मात्र बग्ने गथ्र्यो । हामी नदीमा बस्ने जिवजन्तुको त विजोग थियो । मेरो घाँटीमा यो कालो पाङग्रा देख्नु हुन्छ नि ? यो रहरले लगाएको माला हैन । एक दिन शिकार गर्न पानीमा हामफालेको अकस्मात यो पाङग्रा घाँटीमा अड्कियो र अहिलेसम्म निकाल्न सकेको छैन । वर्षौं भएर होला यो मेरो घाँटीको छालासँग मिलेर शरीरको भाग भैसकेको छ । म पानीभित्र लुकेर शिकार गर्ने जीव पाङग्राले गर्दा पानीभित्र रहनै सक्दिन माथि तैरिहाल्छु । कल्पना गर्नुस म कसरी बाँचेको छु होला । पानीभित्र नभई पानीको वरिपरी वस्ने र शिकार गर्ने भएर मात्र म बाँचेको छु । पानी प्रदुषणको कारणले म एक्लो गोही मात्र बाँकी छु जस्तो लाग्छ सबैले एक–एक गरी प्राण त्यागिसके । यस्तो पीडायुक्त जीवन बाँचेर पनि के काम ? अहिले समय फेरिएको छ । नदीका पानी सफा छन्, प्रदुषणमुक्त छन् तर के गर्नु आफ्नो भन्ने कोही छैनन् । धन्यवाद भन्दै निरास भई दाजु गोही आफ्नो आशनमा गएर बस्छन् ।

सबै पाहुनाको कुरा सुनेपछि आमा कछुुवाले सबैलाई धन्यबाद दिँदै सहभागीबाट कसैलाई बोल्न मन लागेको छ भने बोल्न आमन्त्रित गर्छिन् । अगाडिको सिटमा बसेको युवा हाँसले आफ्नो हात उठाएर बोल्न अनुमति माग्छन । युवाको हात उठेको देखेर आमा खुशी हुँदै कति हामी बूढाबूढीले बोल्ने अब युवाको पालो भनेर माइकमा आउन अनुमति दिइन् ।

“यहाँ उपस्थित सबै जनालाई मेरो सादर नमस्कार, हामीले मनाउन लागेको यस पहिलो स्वतन्त्रा दिवसको उपलक्ष्यमा मेरो हृदयबाट सबैलाई शुभकामना । हामीले काका ह्वेल, काका सार्क र दाजु गोहीको मार्मिक दुखका शब्दहरु सुन्यौँ । वास्तवमा हामी उहाँहरुभन्दा भाग्यमानी नै हौँ । अहिले स्वच्छ पानीमा बाच्न पाउनु भनेको ठूलो भाग्य हो । धेरैजस्तो सहभागीलाई यस्तो परिर्वतन कसरी आयो भन्ने थाहा नहुनसक्छ । त्सकारण म आमा कछुवालाई यसको बारेमा पनि बताइदिन अनुरोध गर्दछु ।”

“नानी तिमीले ज्यादै राम्रो कुरा उठायौ । ल सुन यो परिर्वतन कसरी आयो म भन्छु । आज यहाँ आउनुभएको पाहुनाहरुले भनेभै एक समय उदेकलाग्दो थियो । मानिसको लोभले भूमि, नदीनाला, र समुद्र सबै अति प्रदुषित थिए । एकातिर हामीजस्ता जीवजन्तु भकाभक मर्न थालेका थिए भने अर्का तिर रुखविरुवाको नाश र फोहोर मैलाको व्यवस्थापन गर्न नसक्दा मानिस आफैंलाई पनि विभिन्न रोगले च्याप्न थाल्यो । यस्तो स्थिति रहेमा हाम्रो अस्तित्व हराएर जाने भएकोले हाम्रा युवाहरुले नयाँ रणनिति बनाए । उनीहरुले समुद्रमा मरेका सिनो रातीको समयमा किनारामा लगेर थुपार्न थाले । उनिहरुलाई लाग्यो यसले मानिसका नयाँ पुस्तामा (युवा) चेतना ल्याउने छ र यी युवाहरुले आफ्नो अडानले उनीहरुको हकहितका वकालत गर्ने छन् । धरै बर्षको प्रयास र मानिसका नयाँ पुस्ताहरुको साक्षरताले गर्दा उनिहरुले आफ्नो मात्र नभई प्रकृतिमा रहेका अरु जीवजन्तु र विभिन्न प्राणीको बारेमा सोच्न थाले । दाजु गोहीबाट थाहा पाएअनुसार यी युवाले यसरी भूमि र समुद्रको प्राण्ीिहरु भकाभक मर्न थालेकाले चिन्तित हँुदै वातावरण र जीवजन्तुको रक्षा गर्ने अठोट गरी प्रदुषण गर्ने कलकारखाना र प्रदुषण हुने सामान बनाउने उद्योगलाई खबरदारी गर्ने, सरकारलाई दवाव दिने र नयाँ युवा उद्यमीले समुद्रमा भएका प्लाष्टिक सङ्कलन गर्ने डुङ्गामा जडित उपकरण बनाउने र साफा गर्ने काम भयो । विश्वभरिका युवा एक हुँदा के नसकिने रैछ त ?

युवाको पुस्ताको आविष्कारले विषादीको विकल्प दियो र कृषिमा विषादी प्रयोग हुन छोड्यो । उनीहरुको दवावले सरकारहरुले प्लाष्टिक उत्पादनमा रोक लागायो र यसको विकल्प पनि युवा पुस्ताले नै दियो । बाँकी रह्यो खनिज तेलको व्यवस्थापन, युवाहरुको नयाँ–नयाँ खोजले यसको पनि सरल बिकल्प दियो । मानिसहरुले सैर्य र विद्युतिय उर्जाले सवारी र कलकारखाना चलाउन थाले । अरु वैकल्पिक उर्जाको प्रयोगमा पनि जोड दिए । यसलाई सरकारले कर छुट दिएर मद्दत ग¥यो । तर यी सबै काम एकै दिनमा भएका भने हैनन् । ७ दशकभन्दा बढी लाग्यो यो अवस्थामा आइपुग्न । केही दयालु युवाहरुको साथ नपाएका भए हाम्रो मात्र हैन समस्त मानवजातिको नै अस्तित्व नै सङ्कटमा थियो ।”

सहभागीबाट अर्की एक बकुल्लाले बोल्न हात उठाउँदै, भनिन् “यति मात्र हो र ? मानिसका युवा जमात मिलेर एउटा ठूलो सङ्गठन खोलेका छन् र उनीहरुको मुख्य उद्देश्य भनेको विश्वभरका पानीको प्रदुषण रोक्नु हो र यसमा रहने हामीजस्तो प्राणीको संरक्षण गर्नु हो । यसले त हामीलाई उत्साही बनाएको छ । मानिसको यहि प्रतिबद्घताले गर्दा हामीले आजदेखी वर्षेनी स्वतन्त्रता दिवस मनाउन लागेका छौ । अब हाम्रो पुस्ताले काका ह्वेल, काका सार्क र दाजु गोहीले जस्तो आफ्ना आफन्त र साथीभाई गुमाउनुपर्ने छैन र उहाँहरुले भोगेको जस्तो पीडा पनि  पक्कै भोग्नुपर्ने छैन ।”

उनको यस्तो कुरा सुनेपछि युवाहरुको जमातले थपडी बजाउन थाल्यो जुन पूरै शहरमा गुन्जिन थाल्यो । सबैको हौसला अरु बढ्यो । सबैले एक–अर्कालाइ अङ्कमाल गर्दै अनेक खालका रङ्गीचङ्गी ध्वजापताकाहरु फरफराउन थाले । सबै अब ढुक्क भए एकपटक धेरै नै प्रदुषित वातावरण भएको पृथ्वी अव सफा र बस्न लायक हुने भयो ।
सभाको अन्त्य गर्दै आमा कछुवाले यस कार्यक्रममा आउनुभएका पाहुना र सबै सहभागीहरुलाई धन्यवाद दिँदै भनिन्, “हाम्रो पुस्ताले जेजति दुःख भोग्यो त्यस्को केही झल्को दिने प्रयास हाम्रा पाहुनाहरुले गर्नुभयो । आजको यस कार्यक्रमले नयाँ पिढीलाई थप ऊर्जा दिनेछ भन्ने मलाई लागेको छ । यस्तै सद्भाव र माया हामीसँग मानिस जातिको सधैँ रहोस् र उहाँहरुको पनि भलो होस् ।”

च्यान्टे डलफिनले सबै सहभागीलाइ धन्यबाद दिँदै भन्यो, “आज हामीले सबै सहभागीको खानपिन र नाचगानको यहीँ व्यवस्था गरेका छौँ, खाना खाएर र रमाइलोको आनन्द लिनर जानु होला । यति भन्दै म आजको कार्यक्रम सम्पन्न भएको जानकारी गर्दछु र विदा हुन्छु । धन्यवाद ! ”

यो लेख परिसंबाद दोत कम मा पनि प्रकाशन भएको छ ।
https://parisambad.com/2019/04/30/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%A5%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%A4%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BE-%E0%A4%A6%E0%A4%BF%E0%A4%B5/


Comments

Popular posts from this blog

बिगुल बज्ने हाम्रो धरहरा ! (Article on Dharahara)

What next after Sisdol and Bancharedanda?

वायु प्रदूषण नियन्त्रणमा सरकारी बेवास्ता