बिगुल बज्ने हाम्रो धरहरा ! (Article on Dharahara)

   
                                   

स्कुलका साथीहरूले तिम्रो घर कता ? भनेर सोध्दा  गर्वका साथ धरहरा भनिन्थ्यो । धरहरा सुनेपछि उनीहरू अचम्म मान्दै के तिमी धरहरामा बस्छौ ? भनेर प्रतिप्रश्न गर्थे । यस्ता प्रश्नका उत्तर प्रश्नमै दिने बानी प¥यो  । के रानीपोखरीमा बस्ने मानिसहरू रानीपोखरी भित्र नै बस्छन् त ? साँच्चै धरहरासँग धेरै नै आत्मियता रहेछ, हामी धरहरा वरिपरि बस्नेहरूको । धरहराले हामीलाई हरेक दिन बिहान, दिउँसो र साँझ एकनासले नियालेर हेरेको भान हुन्थ्यो । अगाडि हुँदा त्यति महत्व नभएको तर नभएपछि अभाव खड्किँदो रहेछ ।

वि. स. १८३२ मा भीमसेन थापाले रानी ललित त्रिपुरा सुन्दरीका लागि बनाइदिएको धरहरा वास्तवमा सैनिक प्रयोजनको लागि थियो । धरहरा त्यसबेलाको सबभन्दा अग्लो संरचना भएकाले त्यहाँबाट काठमाडौँ उपत्यकाको अवलोकन गर्न सजिलो हुन्थ्यो  । अहिलको जस्तो हल्लाखल्ला नभएको वातावरणमा त्यो बाटुलो बार्दलीमा बिगुल बज्दा टाढाटाढाबाट कर्मचारीहरू टुँडिखेलमा जम्मा हुनुपथ्र्यो भने सैनिकहरू सर्तक । बिगुल बजाउने काम धरहरा रहेसम्म रह्यो । प्रजातन्त्र र लोकतन्त्रजस्ता राष्ट्रिय दिवसहरूमा बिहान निन्द्राबाट उठाउँथ्यो धरहरा नजिक बस्ने हामीलाई !

 गत वैशाखको भूकम्पले दोस्रो पटक धरहराको अस्तित्व सङ्कटमा पा¥यो । वि. सं. १८९० को भूकम्प थेगेको धरहरा पहिलो पटक वि. स. १९९० मा ध्वस्त भएर पुनर्जीवन पाएको थियो । त्यतिबेलाका राणाकालमा पनि धरहराको त्यतिनै महत्व रहयोे जुन भीमसेन थापाको पालामा थियो । कर्मचारी र सैनिकहरूका लागि प्रयोगमा ल्याइयो । राज्यको ढुकुटीबाट जनताको इच्छा नबुझी पुनर्निर्माण गरिएका थियो । हुन त त्यसताका सर्वसाधारणको धारणालाई कसले कदर गथ्र्यो र ? ती प्राथमिकतामै पर्दैनथे, राणाहरू र केही पहुँचवालाहरू बाहेक । परिस्थिति प्रश्न गर्ने लायक थिएन, कसैको आँट पुग्दैनथ्यो ।

 अहिलेको स्थिति फरक छ । देशमा प्रजातन्त्र आएको छ । विभिन्न समयमा बनेका संविधानले पहिलाभन्दा बढी जनताको मौलिक हकहितका कुरामा जोड दिएका छन् । झन् २०७२ को संविधानले त देशलाई लोकतन्त्रमय बनाइरहेको छ । यद्यपि प्रजातन्त्र र लोकतन्त्रमा के फरक छ ? भन्ने कुरा कसैले स्पष्ट व्याख्या गरेका छैनन् । सायद प्रजा भनिँदा राजा र प्रजाको सम्बन्ध हुन्छ भनेर होला लोक भनिएको  । यो पङ्क्तिकारको आफ्नै बुझाइ हो । जनताको आवाजलाई नै प्रमुख सूत्र मानिएको छ लोकतन्त्रमा । यस्तो लोकतन्त्रमय देशमा खै त प्रधानमत्रीले शहरको बीचमा फेरि धरहरा बनाउने निर्णय गर्दा नागरिकको विचार र सुझबुझ बटुलेका   ?

    आजकल ‘वी विल राइज अगेन’ अर्थात् हामी फेरि उठ्ने छौँ भन्ने सन्देश भएका टि–सर्ट लगाएर तन्नेरीहरू यततत्र हिँड्छन् । त्यसताका यस्ता टि–सर्ट बजारमा ल्याएर वा असुरक्षित मानिसको भावनासँग खेलेर कतिले आम्दानीको स्रोत पनि बनाए होलान् । के यिनलाई साँच्चै नै धरहराको माया भएकै हो त ? धरहराको माया नै छ भने धरहराको बचेको संरचनालाई जगेर्ना गरौँ । बचेका अवशेषलाई सङ्ग्राहालयको रूपमा स्थापित गरी दुवै भूकम्पमा थिचिएर दिवंगत भएका व्यक्तिहरूका नाममा साङ्केतिक धरहरा भएको एउटा स्मारक बनाऔँ । पहिला धरहराको माथिल्लो तलाकोे शिवलिङगलाई मन्दिरको रूपमा खडा गरौँ धरहरा परिसरमै । प्रत्येक दिन हजाराँै मानिसहरू हिँड्ने धरहरा परिसरलाई जोखिममुक्त बनाएर अवलोकन गर्न आउने जोकोहीलाई स्वागत गरौँ । यस्तो ऐतिहासिक महत्व भएको ठाउँलाई सुन्दर बगैँचाको रूपमा परिणत गरौँ । खुला ठाउँको अभावमा बिहानको समयमा घुम्न अहिले वृद्घवृद्धाहरू धेरै खुड्किला भएका भ¥याङ चढेर वा जोखिम लिएर ६ लेनको डरलाग्दो बाटोको बीचबाट  टँुडिखेल पुग्छन् । यो ठाउँमा बिहान टहलने खुला ठाउँ बने उनीहरूका लागि वरदान सावित हुन्छ । भोलि हामी पनि त बूढाबूढी हुनु नै छ । नक्सालको नारायण चौरमा भर्खरै बनेको बगैँचा ज्वलन्त उदाहरण हो  । त्यहाँ अहिले हरबखत सबै उमेर समुहका मानिसहरू टहलिँदै  सेल्फी खिचिरहेका हुन्छन्, छुट्टै आनन्द क्षण बनेको छ । धरहरा परिसरमा राम्रो सङ्ग्राहालय, बगैँचा र मन्दिर भए त नयाँ पुस्ताको ओइरो लाग्छ र त्यसको संरक्षण गर्ने जिम्मा लिन लालायित हुन्छन् । 

 यो ठाउँमा बगैँचा बनेमा धेरै फाइदा छ । पहिलो त काठमाडौँ भूकम्पको जोखिममा रहेको स्थान हो । कति क्षमता भएको र कहिले भूकम्प आउँछ भन्न सकिन्न । तर हरेका पुस्ताले एउटा ठूलो भूकम्पको सामना गरेको इतिहास छ । हरेक विपत्तिको समयमा ठूला खाली ठाँउहरू चाहिएको छ, आश्रय लिन । गत वैशाखको भूकम्पपछि त बाटोका स–साना ठाँउमा पनि कैयौं मानिसले महिनौँसम्म आश्रय लिएका थिए । बढ्दो शहरीकरणले काठमाडौँका अधिकांश खुला ठाउ पूर्णरूपले हटिसकेको छ । अत्यधिक मोटरगाडी र यसबाट निस्कने ध्वनि, मानिसहरूले बनाएका मेसिनबाट निस्केका ध्वनि र विकिरण, मानिसको हल्ला र वायू प्रदुषणले काठमाडौँ लगायत नेपालको प्रमुख शहरहरूका वातावरणीय प्रणालीको सन्तुलनमा गम्भीर असर पुगेका कारण बिभिन्न खालका बिपत्ती आउने निस्चित नै छ । तर कस्तो बिपत्ती आउला यो त समयले नै बताउँने छ । जलबायू परिवर्तन सँगै अरू चुनौति थपिएका छन् । हामीले आफूलाई यस्तो विपत्तिबाट जोगिने उपाए खोज्नु पर्छ सुरक्षीत हुनका लागी । राज्यले यस्ता बिपदको बेलामा आफ्ना नागरीकलाई कसरी जोगाउने भन्ने रणनीती बनाएको देखिदैन् । बैसाखको भूकम्पपछि केहि प्रयासहरु भएका छन् र खुला क्षेत्रको धारणा आएको छ । सकेसम्म धेरैमा धेरै खुला क्षेत्रको निमार्णमा ध्यान दिनु पर्ने कुराहुन थालेका छन् । भएका यस्ता खुला क्षेत्रहरुको विकासमा राज्यलाई सघाउन स्थानीय टोल, ब्यक्ति, र क्लबहरुले सकेसम्म मद्दत गर्ने नै छन् ।

जनताको आवाज हरेक क्षेत्र र तहमा पु¥याउन चौथो अङ्गको रूपमा सञ्चारमाध्यमलाई लिइएको छ । धरहरालाई फेरि पुरानै शैलीको जोखिमको स्रोत नबनाउन र पुरातात्विक महत्वलाई जीवित राख्न सञ्चारमाध्यमको  सहयोग चाहिएको छ । न त अब राणाकाल नै छ जहाँ धरहरामा बिगुल बजाएर सैनिक बोलाउन न नयाँ धरहरामाथि चढेर धरहरा भन्दा अग्ला घरहरूका च्यापबाट बिरूप काठमाडौँको अवलोकन । शहरभन्दा केही पर ठूलो स्तम्भ बनाएमा त्यसबाट काठमाडौँको अवलोकन गर्दाको आनन्द फरक हुन्छ । यस नयाँ कार्यमा धरहराको माया गर्ने व्यक्तित्वको खाँचो छ  र ‘वी विल राइज अगेन’ भन्ने युवापुस्ताको त झनै खाँचो । उल्लेखित नयाँ सोचमा लागे वि. सं. १९९० र २०७२ मा धरहराले च्यापिएर दिवंगत भएका आत्माहरूले आशीर्वाद  दिनेछन् र धरहराको वरिपरी बस्नेलाई फेरि मेरो घर धरहरा भन्दा अझै गर्वको महशुस हुनेछ !

                                                                                                                                    
कञ्चनमणि दीक्षित 
ताहागल्ली, धरहरा

(यो लेख सेतोपाटीको ब्लगमा धरहरामा बगैचा शिर्षकमा छापिएको छ | )

Comments

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. Politicians and policymakers should heed the call. They could be thinking with their hearts rather than their heads when they decided they'd build a NEW one. We do need the Dharahara but we certainly can't afford a super-expensive tower (a pseudo-dharahara) when thousands are still living under the tents, even after a year of the deadly 7.6M earthquake. A replica would merely be a NEW TOWER but certainly NOT DHARAHARA.
    Overall, a good take on the historical, ecological and socio-economical aspect to NOT building (pseudo) Dharahara, a mere TOWER.

    ReplyDelete
    Replies
    1. बिचार राम्रीलाग्यो, समय सुहाउदो उपयोगी नै आज को आवश्कता हो भन्ने बुझे

      Delete
    2. बिचार राम्रीलाग्यो, समय सुहाउदो उपयोगी नै आज को आवश्कता हो भन्ने बुझे

      Delete

Post a Comment

Popular posts from this blog

घर भित्रको प्रदूषण र असुरक्षित बसाई - प्रदूषण कथा

भूतले सारेको बासस्थानः कोरोना भूत

ट्रोल्सले सिकाएको जीवनको मूल्य